किरण गजमेरलाई ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि
काठमाडौँ- गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि भूटानी शरणार्थी युवा किरण गजमेरले जितेका छन् ।
झापाको खुदुनाबारीबाट पुनर्वासका क्रममा अमेरिका पुगेका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि जितेका हुन् ।
टप-४ मा पुगेका अन्य तीन प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तरा श्रीष मगरलाई पछि पार्दै सर्वाधिक भोटका आधारमा उनले उपाधि जितेका हुन् ।
उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि जितेका छन् । उनी टिम प्रमोदबाट टप-४ मा पुगेका थिए ।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो ।
The voice of Nepal Season 3 Grand Finale Live
Similar Post